नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय, जनकपुरधाम

जनकपुरधाम, धनुषा, नेपाल

कम आउँछन् श्रमिकसम्बन्धी उजुरी सम्बन्धमा - गोरखापत्र अनलाइन

कम आउँछन् श्रमिकसम्बन्धी उजुरी

blog

 

सर्लाही समाचारदाता

सर्लाही, जेठ १२ गते । श्रम तथा रोजगार कार्यालय मधेश प्रदेशमा श्रमिकका गुनासा र उजुरी न्यून मात्रामा आउने गरेको पाइएको छ । 

न्यूनतम पारिश्रमिक नपाएको, दुर्घटना बिमा नभएको र राज्यले अनिवार्य प्रदान गर्न भनिएको सेवा सुविधा नपाएको खण्डमा उजुरी गर्ने ठाउँका रूपमा श्रम तथा रोजगार कार्यालय रहेकोसम्म पनि अधिकांश उद्योगी, व्यवसायीसमेतलाई जानकारी छैन । उक्त जानकारी श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख दिवाकर भुजेलले दिनुभएको हो । 

कार्यालयले आइतबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको श्रम परीक्षणसम्बन्धी रोजगारदातासँग अन्तक्रिया कार्यक्रममा कार्यालय प्रमुख एवं वरिष्ठ श्रम अधिकृत भुजेलले श्रमिकले उजुरी गर्न सक्ने अवस्था र निकायबारे जानकारी दिनकै लागि कार्यक्षेत्र अन्तर्गतका जिल्लामा सचेतनाकै हिसाबले अन्तर्क्रिया गरिरहेको बताउनुभयो । 

श्रम तथा रोजगार कार्यालय जनकपुरधामले मधेश प्रदेशको सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । उक्त कार्यालय अर्धन्यायिक निकायसमेत हो । अहिलेसम्म अधिकांश उजुरी जनकपुर आसपासकै मात्र आइरहेको कार्यालयका प्रमुख भुजेलले बताउनुभयो । अन्य जिल्लाका मजदुरको पनि गुनासा तथा उजुरी आऊन् भन्ने चाहना रहेको भुजेलले बताउनुभयो । 

सर्लाहीका चिनी मिलबाट श्रमिकका केही गुनासो आए पनि त्यसबाहेक अन्य कार्यालय, उद्योग, व्यवसायका मजदुरको कार्यालयसमक्ष पुग्ने पहुँच पुग्न सकेको छैन । यसअघि जनकपुर क्षेत्रबाट मात्रै उजुरी आउने र कार्यालयका कार्यक्रम तथा गतिविधि जनकपुरकेन्द्रित नै हुँदै आएको थियो । 

अब भने कार्यक्षेत्र अन्तर्गतका पाँचवटै जिल्लाका उद्योगी, व्यवसायी र मजदुरलाई यसबारेमा बुझाउने प्रयास गरेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा अघिल्लो आवको समेत गरी आफू छ महिनाअघि हाँजिर हुँदा दर्ता भएर रहेको ४७ वटा उजुरीमध्ये अब सात/आठ वटा मात्रै फस्र्योट हुन बाँकी रहेको बताउनुभयो । 

सामाजिक सुरक्षा कोष जनकपुर कार्यालयका प्रमुख कैलाशकुमार यादवले अहिलेसम्म उद्योग, व्यवसायमा आर्थिक अडिट अनिवार्य जस्तै भइरहे पनि अब श्रमिकसँग जोडिएको श्रम 

परीक्षण पनि अनिवार्य गर्न आग्रहसहित उद्योगी, व्यवसायी तथा रोजगारदातासँग अन्तक्रिया गरिएको बताउनुभयो । 

श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका उपसचिव होमप्रसाद घिमिरेले ओझेलमा परेको श्रम अडिटका सम्बन्धमा सबैमाझ सूचना पु¥याउन आवश्यक रहेको बताउनुुभयो । उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले श्रम ऐनका सम्बन्धमा प्रस्ट हुने अवसर प्राप्त गरेको बताउनुभयो । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले उद्योगी तथा व्यवसायीले विधिसम्मत ढङ्गले श्रमिकलाई काममा लगाउन आग्रह गर्नुभयो ।