नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय, जनकपुरधाम

जनकपुरधाम, धनुषा, नेपाल

श्रमिकबाट न्यून आउँछ उजुरी, कार्यालयको सेवाबारे जानकारी दिन अन्तरक्रिया - उज्यालो अभियान

श्रमिकबाट न्यून आउँछ उजुरी, कार्यालयको सेवाबारे जानकारी दिन अन्तरक्रिया

 

  • उज्यालो अभियान
  •  
 

 
श्रम अडिटका सम्वन्धमा प्रष्ट पार्दै श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख दिवाकर भुजेल । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ११ जेठ – श्रम तथा रोजगार कार्यालय जनकपुरमा श्रमिकका गुनासा र उजुरी अत्यन्त न्यून मात्रामा आउने गरेको पाइएको छ ।

श्रम ऐन, २०७४ अनुसार न्यूनतम पारिश्रमिक नपाएको, रोजगारदाताले दुर्घटना बीमा नगरिदिएको र राज्यले अनिवार्य प्रदान गर्न भनिएको सेवा सुविधा नपाएको खण्डमा उजुरी गर्ने ठाउँको रुपमा श्रम तथा रोजगार कार्यालय रहेपनि अधिकांश उद्योगी, व्यवसायी समेतलाई जानकारी नरहेको पाइएको कार्यालयका प्रमुख दिवाकर भुजेलले बताए । कार्यालयले आज लालबन्दीमा आयोजना गरेको श्रम अडिट सम्वन्धी रोजगारदातासँग अन्तरक्रिया कार्यक्रममा वरिष्ठ श्रम अधिकृत भुजेलले श्रमिकले उजुरी गर्न सक्ने अवस्था र उजुरी दिने निकायबारे जानकारी दिनकै लागि कार्यक्षेत्र अन्तर्गतका जिल्लामा सचेतनाकै हिसाबमा यस प्रकारको अन्तरक्रिया गरिरहेको बताएका छन् ।

 

श्रम तथा रोजगार कार्यालय जनकपुरधामले मधेश प्रदेशको सर्लाही, महोत्तरी, धनुुषा, सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको छ । यो कार्यालय अर्धन्यायीक निकाय समेत हो ।

अहिलेसम्म अधिकांश उजुरी जनकपुर आसपासकै मात्र आइरहेको कार्यालयका प्रमुख भुजेलले बताए । “हाम्रो कार्यक्षेत्र पाँचवटा जिल्ला भएपनि अहिलेसम्म जनकपुर क्षेत्रकै मात्र उजुरी आइरहेको छ,” भुजेलले भने, “कार्यालयबारे अन्य जिल्लामा समेत जानकारी होस् र त्यहाँका मजदुरको पनि पिरमर्का र उजुरी आऊन भन्ने हिसाबले हामी अन्तरक्रिया गर्न यहाँसम्म आइपुगेका हौँ ।”

सर्लाहीबाट चिनी मिलका श्रमिकको बाहेक अन्य कार्यालय, उद्योग, व्यवसायका मजदुरको श्रम तथा रोजगार कार्यालयसम्म पहुँच पुुग्न सकेको छैन् । यसअघि जनकपुर क्षेत्रबाट मात्रै उजुरी आउने र कार्यालयका कार्यक्रम तथा गतिविधि जनकपुर केन्द्रीत नै हुन्थ्यो ।

अब भने कार्यक्षेत्र अन्तर्गतका पाँचवटै जिल्लाका उद्योगी, व्यवसायी र मजदुरलाई यसबारेमा बुुझाउने प्रयास गरेको कार्यालय प्रमुख भुजेलले उज्यालो अभियानसँग बताए । उनले कार्यालयमा अघिल्लो आर्थिक वर्षको समेत गरी आफू ६ महिनाअघि हाजिर हुँदा दर्ता भएर रहेको ४७ वटा उजुरीमध्ये अब ७/८ वटाजति मात्रै फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए ।

सामाजिक सुरक्षा कोष शाखा कार्यालय जनकपुरका प्रमुख कैलाशकुमार यादवले अहिलेसम्म उद्योग, व्यवसायमा आर्थिक अडिट अनिवार्य जस्तै भइरहे पनि अब श्रमिकसँग जोडिएको श्रम अडिट समेत अनिवार्य गर्न आग्रहसहित उद्योगी, व्यवसायी तथा रोजगारदातासँग अन्तरक्रिया गरिएको बताएका छन् ।

श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका उपसचिव होमप्रसाद घिमिरेले ओझेलमा परेको श्रम अडिटका सम्वन्धमा सबैमाझ सूचना पुर्याउन आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले अन्तरक्रियाबाट श्रम ऐनका सम्वन्धमा प्रष्ट हुने अवसर प्राप्त गरेको बताएका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले उद्योगी तथा व्यवसायीले विधिसम्वत ढंगले श्रमिकलाई काममा लगाउन आग्रह गरेका छन् ।

अन्तरक्रियामा मधेश प्रदेशको अर्थ मन्त्रालयका उपसचिव उपेन्द्र न्यौपाने, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा लालबन्दी, हरिवन र ईश्वरपुरका उद्योगी, व्यवसायी र अन्य रोजगारदाताको उपस्थिति रहेको थियो ।